काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यसअघि गत कात्तिक २ गते सोमबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको थियो। त्यसयता दसैँको बिदाका कारण सुनको नयाँ मूल्य सार्वजनिक भएको थिएन। सोमबारपछि आइतबार मात्रै नयाँ मूल्य सार्वजनिक गरिएको हो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला २३० रुपैयाँले घटेर ३ हजार ९ सय ५५ रुपैयाँ कायम भएको छ। गत सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार १८५ रुपैयाँ थियो।
नेपाली बजारमा सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। उक्त दिन सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, चाँदीको मूल्य पनि गत माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो। त्यसको तीन दिनपछि माघ १८ गते चाँदीको भाउ प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो। उक्त गिरावट चाँदीको मूल्यमा आएको हालसम्मकै ठूलो गिरावटका रूपमा रहेको छ।

