काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ ।
ललितपुर महानगरपालिका–१३ अन्तर्गत कुसुन्ती हाइटमा निर्माण भइरहेको उक्त पुल सञ्चालनमा आएपछि अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका तथा ह्विलचेयर प्रयोगकर्तालाई चक्रपथ वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
ललितपुर महानगरपालिकाका अनुसार पुल निर्माणको ठेक्का लामा–प्रगति–मणि बुद्ध संयुक्त उपक्रमले पाएको हो । निर्माण सम्झौताअनुसार पुलको लागत ४ करोड ६८ लाख ९ हजार ५६१ रुपैयाँ रहेको छ । सम्झौतामा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्राविधिक समस्या तथा आवश्यक अनुमति प्राप्त गर्ने प्रक्रियाका कारण काममा ढिलाइ भएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा पैदलयात्रीको ज्यान जाने घटना भइरहेकाले सुरक्षित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए ।
उनका अनुसार पुललाई अपाङ्गतामैत्री, ज्येष्ठ नागरिकमैत्री तथा बालबालिकामैत्री बनाउने उद्देश्यले दुवैतर्फ लिफ्ट जडान गरिएको हो । लिफ्टको सहायताले शारीरिक रूपमा अशक्त व्यक्ति तथा ह्विलचेयर प्रयोगकर्ताले पनि सहज रूपमा सडक पार गर्न सक्नेछन् ।
महर्जनले पुलको शिलान्यास २०८० फागुनमा गरिएको जानकारी दिँदै सडक विभागबाट अनुमति लिने प्रक्रिया र प्राविधिक जटिलताका कारण निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसकिएको बताए । आवश्यक स्वीकृति प्राप्त गर्न समय लागे पनि अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
चक्रपथमा सवारीसाधनको चाप उच्च रहने भएकाले पैदलयात्रीले सडकबाटै वारपार गर्दा दुर्घटनाको जोखिम रहँदै आएको छ । आकाशे पुल सञ्चालनमा आएपछि पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न प्रोत्साहन मिल्ने र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने महानगरपालिकाको अपेक्षा छ ।
निर्माण सम्झौताअनुसार पुलको मर्मतसम्भारको जिम्मेवारी ठेकेदार कम्पनीले पाँच वर्षसम्म वहन गर्नुपर्नेछ ।
महानगर प्रमुख महर्जनका अनुसार ललितपुरमा अपाङ्गता भएका व्यक्तिले समेत सहज रूपमा आवतजावत गर्न सक्ने गरी लगनखेलस्थित पाटन अस्पताल र मानसिक अस्पताल परिसरमा यसअघि अपाङ्गतामैत्री पुल निर्माण गरिएको छ ।
उनले आवश्यक कागजी प्रक्रिया पूरा भएपछि आगामी सातदेखि आठ दिनभित्र चक्रपथ क्षेत्रमा अर्को पुलको शिलान्यास गरी निर्माण अघि बढाउने तयारी भइरहेको पनि जानकारी दिए ।
एकान्तकुनाको पुल सञ्चालनमा आएपछि कुसुन्ती तथा आसपासका क्षेत्रका पैदलयात्रीलाई सडक वारपार गर्न सहज हुने र व्यस्त चक्रपथमा हुने दुर्घटनाको जोखिम कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


