२०८३, कार्तिक ११ गते

  • समाचार
  • बिहीबारदेखि देशभर वर्षाको सम्भावना: २९ जिल्लामा...

बिहीबारदेखि देशभर वर्षाको सम्भावना: २९ जिल्लामा बढी जोखिम; यात्रा र धान कटाइ रोक्न सुझाव

बिहीबारदेखि देशभर वर्षाको सम्भावना: २९ जिल्लामा बढी जोखिम; यात्रा र धान कटाइ रोक्न सुझाव

images
आइतवार, कार्तिक ९ २०८३१२:२१
आइतवार, कार्तिक ९ २०८३१२:२१
  • images

    काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। मौसमविद्हरूका अनुसार कात्तिक १२ देखि १५ गतेसम्म वर्षाको गतिविधि बढ्न सक्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले कम्तीमा २९ जिल्लामा विशेष सतर्कता आवश्यक देखिएको छ।

    त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलको प्रारम्भिक मौसम विश्लेषणअनुसार, भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने मौसमी प्रणालीका कारण बिहीबार रातिदेखि वर्षाको गतिविधि थप बढ्न सक्छ। यसको प्रभाव तीनदेखि चार दिनसम्म रहने र केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    प्रारम्भिक आकलनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी पर्न सक्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने तुलनात्मक रूपमा कम प्रभाव पर्ने सम्भावना छ।

    २९ जिल्लामा बढी जोखिमको आकलन

    डा. पोखरेलले सार्वजनिक गरेको प्रारम्भिक जोखिम नक्सामा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लासहित २९ जिल्लामा तुलनात्मक रूपमा बढी वर्षा हुन सक्ने संकेत गरिएको छ।

    नेपालको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्न सक्ने जनाएको छ। यद्यपि, वर्षाको मात्रा र बढी प्रभावित हुन सक्ने क्षेत्रबारे महाशाखाबाट विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

    डा. पोखरेलका अनुसार मौसमी प्रणालीको मार्ग र तीव्रतामा परिवर्तन हुन सक्ने भएकाले अहिलेको पूर्वानुमानलाई प्रारम्भिक रूपमा लिनुपर्छ। वर्षाको मात्रा तथा जोखिममा पर्ने जिल्लाहरू पनि परिवर्तन हुन सक्ने उनको भनाइ छ।

    तीन मौसमी प्रणालीको संयुक्त प्रभाव पर्न सक्ने

    मौसमविद्हरूका अनुसार अहिले नेपालमा वर्षा गराउन सक्ने विभिन्न मौसमी प्रणाली सक्रिय छन्। दक्षिण भारतमा उत्तरपूर्वी मनसुनको प्रभाव कायम रहनुका साथै न्यून चापीय प्रणाली पनि विकसित भइरहेको छ। यसका कारण दक्षिण भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ।

    त्यस्तै, बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली नेपालतर्फ आउने मुख्य प्रणालीका रूपमा देखिएको छ। यसबाहेक पश्चिमी वायुको प्रभावसमेत कायम रहेकाले वर्षाको सम्भावना बढ्न सक्ने डा. पोखरेलको विश्लेषण छ।

    बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावा र माथिल्लो वायुमण्डलको अवस्थाले समेत नेपालमा वर्षाको मात्रा तथा तीव्रता निर्धारण गर्न भूमिका खेल्न सक्ने मौसमविद्हरूको भनाइ छ।

    मनाङसहित हिमाली क्षेत्रमा विशेष सतर्कता

    प्रारम्भिक पूर्वानुमानमा मनाङसहित हिमाली क्षेत्रमा पनि भारी वर्षाको सम्भावना देखिएकाले विशेष सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

    सम्भावित वर्षाका कारण तराई तथा मधेशका जिल्लामा डुबान, पहाडी क्षेत्रमा बाढीपहिरो र हिमाली क्षेत्रमा हिमपातको जोखिम बढ्न सक्छ। विशेषगरी बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधिमा मौसमी अवस्थालाई ध्यानमा राखेर यात्रा तथा अन्य गतिविधिको योजना बनाउनुपर्ने देखिएको छ।

    मौसमविद्हरूले मौसमी अवस्थाबारे नियमित जानकारी लिन र सम्भावित जोखिमबाट बच्न आवश्यक तयारी गर्नसमेत आग्रह गरेका छन्।

    धान नकाट्न र लामो दूरीको यात्रा नगर्न सुझाव

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बंगालको खाडीमा विकसित प्रणाली थप सक्रिय हुँदै भारतको ओडिशा र बिहार हुँदै नेपालतर्फ आउने सम्भावना रहेको बताएका छन्। यसबाट पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने उनको आकलन छ।

    सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै उनले दशैंपछि आफ्नो कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई शुक्रबार र शनिबार लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन्। हिमाली क्षेत्रमा पदयात्राको योजना बनाएकाहरूलाई पनि यात्रा स्थगित गर्न आग्रह गरेका छन्।

    त्यस्तै, आगामी बिहीबार, शुक्रबार र शनिबार धान काट्ने योजना बनाएकाहरूलाई समेत काम स्थगित गर्न उनले सुझाव दिएका छन्। वर्षा हुँदा काटिएको धान भिज्ने, खेतमा पानी जम्ने तथा बाली भित्र्याउन कठिनाइ हुन सक्ने भएकाले किसानहरूलाई पूर्वतयारी गर्न आवश्यक देखिएको छ।

    अर्का मौसमविद् उज्ज्वल उपाध्यायले पनि कात्तिक ११ देखि १५ गतेसम्म लामो दूरीको यात्रा नगर्न, बाली काट्ने तथा भित्र्याउने काम स्थगित गर्न र पदयात्रामा नजान सुझाव दिएका छन्।

    उनका अनुसार यात्रा गर्नैपर्ने अवस्था भएमा विशेष सावधानी अपनाउनुपर्छ। खासगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा सम्भावित वर्षा, पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यान दिन आवश्यक छ।

    मौसमविद्हरूले मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे अद्यावधिक सूचना लिएर मात्रै यात्रा, कृषि कार्य तथा पदयात्राको योजना बनाउन आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend