२०८३, कार्तिक १८ गते

नेपाल एसबीआई बैंकको नाफा १० प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ५५ करोड

नेपाल एसबीआई बैंकको नाफा १० प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ५५ करोड

images
आइतवार, कार्तिक १५ २०८३०१:४२
आइतवार, कार्तिक १५ २०८३०१:४२
  • images

    काठमाडौँ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१० प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ५० करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा, निक्षेप संकलन तथा कर्जा प्रवाहमा वृद्धि भएको छ । तर, बैंकको खुद ब्याज आम्दानी भने घटेको छ ।

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २६ करोड ९७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी थियो ।

    समीक्षा अवधिमा बैंकले शुल्क तथा कमिसनबाट ३६ करोड ७० लाख रुपैयाँ खुद आम्दानी गरेको छ । त्यस्तै, धितोपत्र तथा अन्य कारोबारबाट ११ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । यी आम्दानीसहित बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ७६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

    बैंकको सञ्चालन नाफा ७८ करोड ३४ लाख रुपैयाँ रहेको छ भने करअघिको नाफा ७८ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

    निक्षेप संकलनतर्फ बैंकले उल्लेख्य प्रगति गरेको छ । असोज मसान्तसम्म बैंकले २ खर्ब ३९ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा बैंकको कुल निक्षेप २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ थियो । यसअनुसार बैंकको निक्षेप २६ अर्ब ७० करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको हो ।

    त्यसैगरी, बैंकको कर्जा लगानी पनि बढेको छ । गत आर्थिक वर्षको अन्त्यमा १ खर्ब ४६ अर्ब ७७ करोड रुपैयाँ रहेको कर्जा प्रवाह चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बढेर १ खर्ब ५० अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

    यद्यपि, बैंकको खराब कर्जा अनुपातमा सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.०१ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३.१९ प्रतिशत पुगेको छ ।

    बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ४९ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६६ पैसा रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend