२०८३, कार्तिक १८ गते

  • बैंक बित्त
  • मुक्तिनाथ विकास बैंकको नाफा ४३.४४ प्रतिशतले...

मुक्तिनाथ विकास बैंकको नाफा ४३.४४ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ३२ करोड २४ लाख

मुक्तिनाथ विकास बैंकको नाफा ४३.४४ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ३२ करोड २४ लाख

images
सीएनएन खबर
आइतवार, कार्तिक १५ २०८३०१:०९
सीएनएन खबर
आइतवार, कार्तिक १५ २०८३०१:०९
  • images

    काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

    यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.४४ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्षको असोजसम्ममा १ अर्ब १८ करोड ५५ लाख १० हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आवको पहिलो त्रैमासमा बढेर १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

    त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २२ करोड रुपैयाँ नाघेको छ । गत वर्षको सोही अवधिमा बैंकले यस शीर्षकबाट १२ करोड ७० लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

    बैंकको वितरणयोग्य नाफा ६१ करोड ५६ लाख ६ हजार रुपैयाँ पुगेको छ । यससँगै बैंकको लाभांश क्षमता ७.६९ प्रतिशत कायम भएको छ । प्रतिसेयर आम्दानी (ईपीएस) पनि ११.२४ रुपैयाँबाट बढेर १६.१२ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६५.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.३४ गुणा रहेको छ ।

    निक्षेप तथा कर्जा विस्तारमा पनि बैंकले वृद्धि गरेको छ । असोज मसान्तसम्ममा बैंकले १ खर्ब २६ अर्ब २५ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ थियो । यसअनुसार बैंकको निक्षेप २.२० प्रतिशतले बढेको हो ।

    त्यसैगरी, बैंकको कर्जा तथा सापट रकम ४.९४ प्रतिशतले वृद्धि भएर १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्ममा बैंकको कर्जा लगानी १ खर्ब ५० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको कर्जा लगानी ४ अर्ब ९६ करोड ४५ लाख रुपैयाँले बढेको हो ।

    बैंकको कुल सम्पत्ति १ खर्ब ४४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । सञ्चालन खर्च नियन्त्रण र कर्जा नोक्सानी व्यवस्थापनमा भएको सुधारले सञ्चालन मुनाफा बढाउन सहयोग पुगेको बैंकले जनाएको छ ।

    यद्यपि, बैंकको खराब कर्जामा भने दबाब देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा ४.०३ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा बढेर ४.७३ प्रतिशत पुगेको छ । यसले नाफा र आम्दानीमा सुधार भए पनि बैंकको कर्जा गुणस्तरमा चुनौती थपिएको संकेत गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend