काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आठ राष्ट्रियस्तरका विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.२३ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म यी बैंकहरूले कुल ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । यसपटक अधिकांश बैंकको नाफामा सुधार आउँदा समग्र क्षेत्रकै नाफा दोब्बरभन्दा बढी भएको हो ।
नाफा आर्जनका आधारमा लुम्बिनी विकास बैंक पहिलो स्थानमा रहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ घाटामा रहेको बैंक यसपटक उल्लेख्य सुधार गर्दै नाफामा फर्किएको हो ।
त्यस्तै, मुक्तिनाथ विकास बैंक ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा रहेको छ । बैंकको नाफा अघिल्लो वर्षको २२ करोड ४७ लाख ७४ हजार रुपैयाँबाट ४३.४४ प्रतिशतले वृद्धि भएको हो ।
गरिमा विकास बैंकले २४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तर, यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको २५ करोड ५ लाख ७५ हजार रुपैयाँभन्दा ४.१७ प्रतिशतले कम हो । कामना सेवा विकास बैंकले भने २३ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा कमाउँदै १६.९९ प्रतिशतको वृद्धि हासिल गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ थियो ।
प्रतिशतका आधारमा सबैभन्दा उच्च नाफा वृद्धि ज्योति विकास बैंकले गरेको छ । बैंकको खुद नाफा अघिल्लो वर्षको ७ करोड ३ लाख ३४ हजार रुपैयाँबाट बढेर २० करोड १ लाख ६१ हजार रुपैयाँ पुगेको छ । यो १८४.५९ प्रतिशतको वृद्धि हो ।
यता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १९ करोड ७६ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, अघिल्लो वर्षको २० करोड ३० लाख ४१ हजार रुपैयाँको तुलनामा बैंकको नाफा २.६६ प्रतिशतले घटेको छ ।
महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको ९ करोड ७५ लाख १२ हजार रुपैयाँको तुलनामा बैंकको नाफा २१.४९ प्रतिशतले बढेको हो ।
यसैबीच, सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा भने सबैभन्दा ठूलो गिरावट देखिएको छ । बैंकले समीक्षा अवधिमा ३ करोड ३४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८ करोड ८२ लाख ११ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यसपटक ६२.०७ प्रतिशतले घटेको हो ।
समग्रमा राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिए पनि केही बैंकको नाफा भने घटेको वित्तीय विवरणले देखाएको छ ।


