काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार इलाम जिल्ला अस्पतालमा भर्ना भएका केसीलाई आज हेलिकप्टरमार्फत काठमाडौँ ल्याउन लागिएको हो।
कात्तिक १४ गते राति अस्पताल भर्ना गरिएका केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको थियो।
पूर्वाधार तयार नगरी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा चिकित्सा शिक्षा अध्यापनका लागि अनुमति दिइएको भन्दै केसीले कात्तिक १३ गतेदेखि आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए। उनले स्वार्थको द्वन्द्व देखिने निर्णयहरू खारेज गर्नुपर्ने मागसमेत अघि सारेका छन्।
चिकित्सा शिक्षा आयोगले यस वर्ष एमबीबीएस अध्ययनका लागि ११० सिट थप गर्ने निर्णय गरेको थियो। आयोगले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट वृद्धि गर्ने निर्णय गरेको थियो।
विशेषगरी नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप गरिएको सिट तत्काल फिर्ता लिनुपर्ने माग केसीको छ। सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै उनले गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा अनशन सुरु गरेका थिए।


