२०८३, कार्तिक १८ गते

पहिलो त्रैमासिकमा २० वाणिज्य बैंकले कमाए १९ अर्ब ११ करोड नाफा, कुनको अवस्था कस्तो ?

पहिलो त्रैमासिकमा २० वाणिज्य बैंकले कमाए १९ अर्ब ११ करोड नाफा, कुनको अवस्था कस्तो ?

images
आइतवार, कार्तिक १५ २०८३१०:१९
आइतवार, कार्तिक १५ २०८३१०:१९
  • images

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफा बढेको छ भने केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ।

    समीक्षा अवधिमा १० वटा वाणिज्य बैंकले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्। सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक पहिलो स्थानमा रहेको छ।

    नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो।

    त्यस्तै, ग्लोबल आइएमई बैंक दुई अर्ब ३१ करोड रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा रहेको छ। बैंकले गत वर्षको पहिलो त्रैमासमा एक अर्ब ८५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि नाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकले समीक्षा अवधिमा एक अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ५८ करोड रुपैयाँ मात्रै थियो।

    यी हुन् एक अर्बभन्दा बढी नाफा कमाउने बैंक

    नबिल, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य सात बैंकले पनि पहिलो त्रैमासमा एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्।

    एभरेष्ट बैंकले एक अर्ब २५ करोड रुपैयाँ नाफा कमाउँदा प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले समान एक अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

    त्यस्तै, एनएमबी बैंकले एक अर्ब १६ करोड, कृषि विकास बैंकले एक अर्ब नौ करोड, कुमारी बैंकले एक अर्ब सात करोड र सानिमा बैंकले एक अर्ब पाँच करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

    घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक

    गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ खुद नोक्सानी बेहोरेको सिटिजन्स बैंक चालु आर्थिक वर्षमा नाफामा फर्किएको छ। बैंकले समीक्षा अवधिमा १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    यसैगरी, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा दोब्बरभन्दा बढीले वृद्धि गरेका छन्।

    समग्रमा पहिलो त्रैमासको वित्तीय विवरणले अधिकांश वाणिज्य बैंकको नाफामा सुधार देखाएको छ। यद्यपि, सबै बैंकको नाफा वृद्धिदर समान नरहेको वित्तीय विवरणले देखाएको छ।

    बैंकको नाम यो वर्ष (नाफा/कमानी) गत आ.व. (नाफा/कमानी)
    सिटिजन्स बैंक १० करोड २७ लाख २२ करोड ४ लाख
    ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख १ अर्ब ८५ करोड ८६ लाख
    हिमालयन बैंक ६८ करोड ४८ लाख ७० करोड २९ लाख
    लक्ष्मी सनराइज बैंक ६५ करोड ३३ लाख ३३ करोड २३ लाख
    नबिल बैंक २ अर्ब ५५ करोड ५१ लाख १ अर्ब ७५ करोड ६९ लाख
    एनआईसी एशिया बैंक १२ करोड ७४ लाख १२ करोड २१ लाख
    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक १ अर्ब १८ करोड १४ लाख ४५ करोड ५ लाख
    प्राइम कमर्सियल बैंक १ अर्ब १८ करोड ७६ लाख १ अर्ब २५ करोड ८४ लाख
    प्रभु बैंक ६४ करोड ७४ लाख ३६ करोड ५७ लाख
    नेपाल एसबिआई बैंक ५५ करोड ८५ लाख ४९ करोड ७६ लाख
    स्ट्यान्डर्ड चार्टर्ड बैंक ६७ करोड १४ लाख ६९ करोड ३९ लाख
    एभरेष्ट बैंक १ अर्ब २५ करोड २७ लाख १ अर्ब १७ करोड ९२ लाख
    माछापुच्छ्रे बैंक ५५ करोड ११ लाख ४१ करोड ७९ लाख
    नेपाल बैंक ८३ करोड २१ लाख ५८ करोड ८२ लाख
    एनएमबि बैंक १ अर्ब १६ करोड ४२ लाख १ अर्ब ३० करोड ८५ लाख
    राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ६४ करोड ९८ लाख ५८ करोड ८७ लाख
    सानिमा बैंक १ अर्ब ५ करोड १४ लाख ४५ करोड ४९ लाख
    कृषि विकास बैंक १ अर्ब ९ करोड २३ लाख ५७ करोड ३८ लाख
    कुमारी बैंक १ अर्ब ७ करोड ४५ लाख १ अर्ब ५ करोड ६५ लाख
    सिद्धार्थ बैंक ८५ करोड १५ लाख ३२ करोड ४० लाख

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend