काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। पार्टीले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरेको हो।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन विभिन्न सातवटा उपसमितिसमेत गठन गरेको छ।
जसअनुसार क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिमा डा. तोशिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, क्षमता विकास समन्वय उपसमितिको संयोजकमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिमा मिलन लिम्बूलाई जिम्मेवारी तोकिएको छ।
बैठकले उम्मेदवार छनोट रूपरेखाका विभिन्न पक्षमा छलफल गर्दै क्यान्डिडेट क्लबमार्फत महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारका लागि आवेदन प्रक्रिया खुला गर्ने निर्णय गरेको पार्टीले जनाएको छ।


