काठमाडौँ । कोसी प्रदेशका पाँच जिल्लामा शनिबार र आइतबार बिहान ८ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने जनाएको हो ।
प्राधिकरणका अनुसार करौन १३२/३३ केभी सबस्टेसनको उपकरण परीक्षण तथा सबस्टेसन सञ्चालनका लागि दुहबी महाशाखाअन्तर्गतको दुहबी–दमक १३२ केभी प्रसारण लाइन बन्द गर्न लागिएको हो ।
यसका कारण शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म ती जिल्लामा विद्युत् आपूर्ति पूर्ण वा आंशिक रूपमा अवरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ ।
सबस्टेसनको उपकरण परीक्षण तथा सञ्चालनसम्बन्धी काम सम्पन्न गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले सूचनामार्फत जानकारी दिएको छ ।


