काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि बिचौलिया इनम सापकोटासँग सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको फूलकोर्ट बैठक बोलाएका छन् ।
शुक्रबार बिहान ९ बजे बस्ने गरी बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
हिरासतमा रहेका बिचौलिया सापकोटासँग नाम जोडिएका सूचना सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए । उनले सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै सार्वजनिक भएका आरोप अस्वीकार गरेका छन् ।
यसैगरी, सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र श्रीकान्त पौडेलको पनि सापकोटासँग कुराकानी भएका म्यासेज सार्वजनिक भएका छन् । दुवै न्यायाधीशले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् ।
न्यायाधीशहरूको नाम बिचौलियासँग जोडिएर सार्वजनिक भएपछि नेपाल बार एसोसिएसनले भने यस विषयमा निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ ।
न्यायालयका नेतृत्वसहित न्यायाधीशहरूको नाम विवादमा जोडिएको र नेपाल बारले समेत अनुसन्धानको माग गरिरहेको अवस्थामा प्रधानन्यायाधीश शर्माले फूलकोर्ट बैठक बोलाएका हुन् ।


