२०८३, आश्विन २८ गते

images
  • राजनीति
  • ‘शहरी अर्थतन्त्र’को एजेन्डा सहित काठमाडौं–१ को...

‘शहरी अर्थतन्त्र’को एजेन्डा सहित काठमाडौं–१ को चुनावी मैदानमा प्रवल थापा

‘शहरी अर्थतन्त्र’को एजेन्डा सहित काठमाडौं–१ को चुनावी मैदानमा प्रवल थापा

images
बुधवार, माघ २८ २०८२११:२१
बुधवार, माघ २८ २०८२११:२१
  • images

    काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका प्रबल थापा शहरी विकास, उद्यमशीलता र हरित अर्थतन्त्रलाई केन्द्रमा राखेर चुनावी मैदानमा उत्रिएका छन् । उनको चुनावी एजेन्डामा परम्परागत राजनीतिक नाराभन्दा फरक, व्यावसायिक सोच, उद्यमशीलता, दीगो र सुरक्षित शहरी व्यवस्थापन लगायतलाई प्राथमिकता दिइएको छ ।

    काठमाडौं क्षेत्र नम्बर १ आवासीय, शैक्षिक, व्यवसायिक र प्रशासनिक केन्द्रहरू रहेकाले संवेदनशील र महत्वपूर्ण क्षेत्रअन्तर्गत पर्ने भन्दै थापाले आफ्ना एजेण्डाहरूलाई पनि सोही अनुसार वर्गीकरण गरेका छन् ।

    आफ्नो क्षेत्रलाई ‘गरिखाने वर्ग’को केन्द्र बनाउने लक्ष्यका साथ अगाडि बढेका थापाले उद्यमशीलता बिना आर्थिक समृद्धि नहुने भन्दै त्यसका निम्ति स्थायित्व आवश्यक रहेको बताए । जसमा नीतिदेखि योजनासम्ममा स्थायित्व हुनुपर्नेमा उनको जोड छ ।

    लघु तथा मझौला व्यवसायदेखि ठूला व्यवसायिक प्रतिष्ठानहरू समेत रहेको आफ्नो क्षेत्रमा व्यवसायिक सुरक्षा र वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

    उनी भन्छन्,’अधिकारका निम्ति देशैभरबाट माइतिघरमा धर्ना बस्नुपर्छ भन्ने अवस्थालाई सुधार गरेर शिक्षा, व्यवसाय र रोजगारीका निम्ति बानेश्वर पुग्नुपर्छ भन्ने अवस्था सिर्जना गर्ने दायित्व जनप्रतिनिधिको हो, त्यसमा म योजनाबद्ध तरिकाबाट अगाडि बढ्नेछु ।’

    ‘बढ्दो ट्राफिक, अव्यवस्थित पार्किङ, कमजोर सार्वजनिक सेवा र आन्दोलनको केन्द्र बन्दा काठमाडौं क्षेत्र नम्बर १ अस्तव्यस्त हुँदै गइरहेको छ । जसले गर्दा यस क्षेत्रबाट व्यवसाय पलायन हुन थालेका छन् । शैक्षिक संस्थाहरू स्थानान्तरण गर्नुपर्ने अवस्था समेत आएको हुँदा यस क्षेत्रका स्थानीयबासीमाथि ठूलो आर्थिक नोक्सानी हुन सक्ने खतरा बढेको छ,’ उनले भने( ‘यस क्षेत्रका मतदातामाात्र होइन यहाँ पेशा, व्यवसाय, अध्ययन र आवासमा आवद्ध ७७ वटै जिल्लाका नागरिकको सुरक्षा गर्नुपर्ने हाम्रो दायित्व हो।’

    थापाले आर्थिक क्रियाकलापलाई वृद्धि गर्नका निम्ति वैज्ञानिक ट्राफिक व्यवस्थापन, स्मार्ट पार्किङ प्रणाली, पैदलमैत्री सडक र सार्वजनिक यातायात सुधार, भित्री सडक र बस्तीलाई ‘कनेक्टिभिटी’, भाडा सुरक्षा कानून, सहुलियत आवास, सडक बत्ती, टोल सुरक्षा जस्ता आवश्यक पूर्वाधार र वातावरण निर्माण गर्नुपर्ने बताए ।

    थापाले स्थानीयबासीका लागि उद्यमशीलताको विकास, सीप हस्तान्तरण, स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने ठोस नीति आवश्यक रहेको हुँदा सो अनुसार आफू योजनाबद्ध तरिकाबाट अगाडि बढ्ने बताए ।

    पर्यटन, हस्पिटालिटी सेवा तथा साना व्यवसायलाई लक्षित गर्दै नीतिगत सहजता, सहुलियतपूर्ण ऋण र उद्यम कोष विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा आफूले नेतृत्वदायी भूमिका खेल्ने उनको प्रतिबद्धता छ । उनी भन्छन्, “युवाहरू विदेश जान बाध्य नहुन्, आफ्नै शहरमा सम्मानजनक रोजगारी पाउन् ।”
    विदेशबाट व्यवस्थापनमा उच्च शिक्षा हासिल गरी स्वदेशमै हस्पिटालिटी व्यवसायमा संलग्न रहँदै आएका थापाले युवाहरूलाई स्वरोजगार हुन र नवीनतम व्यवसायतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए ।

    थापाको अर्को महत्वपूर्ण एजेन्डामा हरित अर्थतन्त्र, रोजगारी र वातावरणमैत्री शहर निर्माण गर्नु अबको आवश्यकतालाई महत्वका साथ उल्लेख गरिएको छ ।
    काठमाडौं क्षेत्र नम्बर १ लाई ‘लो इमिसन जोन’ घोषणा गरी तद्अनुसार योजना निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

    सूचना प्रविधिलाई युवाहरूको रोजगारीको माध्यम बनाउन र गृहणी महिलाहरूलाई व्यवसायिक सीप प्रदान गरी घरमै रोजगारी सिर्जना गर्ने योजना समेत थापाको छ । उनले आफू यही ठाउँमा जन्मिएर हुर्किएको हुनाले शहरी गरिबीलाई नजिकबाट बुझेको भन्दै यसको न्यूनीकरणका लागि ठोस योजनाका साथ अगाडि बड्ने योजना रहेको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend