काठमाडौँ । विवादास्पद अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारलाई पार्टीको केन्द्रीय अनुशासन आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ।
बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाएको र धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको हो।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले घटनाको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिएको जानकारी मंगलबार विज्ञप्तिमार्फत दिएका थिए।
सोही निर्देशनपछि आयोगले सुनारसँग स्पष्टीकरण मागेको हो। आयोगका एक सदस्यका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र जवाफ दिन पत्र पठाइएको छ।
‘माननीय खगेन्द्र सुनारलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका छौँ। उहाँको स्पष्टीकरण आएपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,’ आयोगका एक सदस्यले रातोपाटीसँग भने।
अडियो प्रकरणपछि रास्वपाले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सुनारमाथि घटनाको छानबिन गरी कारबाही गर्न दबाब बढिरहेको छ।
आयोगले सुनारको स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढाउने जनाएको छ। घटनाबारे अन्तिम निष्कर्ष भने आन्तरिक छानबिनपछि आउनेछ।
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, सार्वजनिक कार्यक्रममा रोक


