काठमाडौं । रौतहटको चर्चित इँटाभट्टा घटनामा नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलम अदालतबाट सफाइ पाए पनि घटनाको निष्कर्षले पीडितको घाउ भने अझै चिर्न सकेको छैन।
सोही घटनामा गम्भीर घाइते भएका भारत बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार पहिलोपटक सार्वजनिक रुपमा काठमाडौं आइपुगेका छन् र आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफूमाथिको पीडा सार्वजनिक गरेका छन्।
पत्रकार सम्मेलनमा भावुक मुद्रामा प्रस्तुत हुँदै गौरीशंकरले भने, ‘त्यो दिन अफ्ताब आलमको घरमा पैसा लिन गएकै बेला बम विस्फोट भयो, म आफैँ घाइते भएँ। कान उड्यो, अनुहार र घाँटी जलेको छ। आज पनि म गम्छाले मुख छोपेर हिँड्न बाध्य छु।’उनले आफ्नो शरीरका घाउ नै घटनाको प्रत्यक्ष प्रमाण भएको बताए।
‘फैसालामा बम विस्फोट भएको प्रमाण छैन भनिएको छ। म भने बाँचिरहेको छु, मेरो शरीरमै त्यो घाउ बोकेर। अब म सर्वोच्च अदालत जानेछु,’ उनले भने ।
अदालतले सफाइ, पीडितको आँसु
गौरीशंकरका अनुसार उक्त दिन इँटाभट्टामा बम बनाउने काम भइरहेको थियो र विस्फोटपछि उनीसहित केही अन्य मजदुरहरू घाइते भएका थिए। घटनामा मान्छेहरू जिउँदै जलाइएको आरोप आलममाथि लागे पनि उच्च अदालत वीरगन्जले प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो।
तर, गौरीशंकरले अदालतको निर्णयले अन्याय भएको बताए। ‘न्याय नपाउने हो भने गरीब, मजदुरको आवाज सुन्ने को हो?’ उनले प्रश्न गरे।
गौरीशंकरले बम विस्फोटपछि भारतमा तीन महिना उपचार गराएको र साढे ३ लाख भारतीय रुपैयाँ खर्च भएको बताएका छन्। ‘तर अफ्ताबले कहिल्यै फोनसमेत गरेन, एक रुपैयाँ पनि दिएन,’ उनले गुनासो पोखे।
उनले धम्कीसमेत पाएको दाबी गर्दै भने, ‘म घर गएकै बेला अफ्ताबका मान्छेले आमालाई भने– तेरो छोरा बाँच्दैन अब। त्यही धम्कीले आजसम्म डरमा बाँचिरहेछु।’
उनको भनाइका सम्पादित अंशः
म रौतहटको राजा इँटाभट्टामा काम गर्दै थिए । हप्ताको दिन थियो । पैसा लिन मलाई बोलाएर लिएर गयो । हामी तीन जना थियौं । मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाउ । घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा । आँखा खुलेपछि मैले आमालाई सोधे- कहाँ हो यो ? आमाले भन्नुभयो- यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइरखेको छु । केही चिन्ता नगर, ठीक हुन्छ तिमीलाई ।
त्यसपछि मेरो आँखा फेरि बन्द भयो । मेरो इलाज (उपचार) तीन महिनाजति भयो । मलाई साढे ३ लाख आईसी .(भारतीय रुपैयाँ) खर्च भयो । अफ्ताबले एकचोटी पनि सोधेन- मान्छे कस्तो छ, के छ ? एक रुपैया पनि दिएन । सोधेको पनि छैन । आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्यो ।
निर्वाचनको एक दिन पहिला बेलुकातिर बम बिष्फोट भएको थियो । अफताब आलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए मलाई थाहा भएन । दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन । होस् भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने ।
त्यहाँ बम बिष्फोट भएको छ, मलाई बम लागेको छ । अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु । मलाई त्यसैमा बम लागेको छ । अरु मान्छे चाहिँ कति मर्यो मलाई थाहा भएन । इलेक्सनको एक दिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विष्फोट गराएको त मैले भन्न सक्दिनँ । तर, उसैको घरमा भएको छ ।
सुरुसुरुमा एसपी कार्यालय (प्रहरी चौकी) मा मैले बयान दिँदा मेरो घरमा गएको थियो । म घरमा नहुँदाखेरी त्यसको आद्मी (मान्छे) गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मर्यो) अब । तिम्रो छोरा दुई-चार साल बितेपछि बाँच्दैन । अफ्ताब आलमको मान्छे गएर भनेको छ । मलाइ धम्की दिएको छ ।
अफ्ताब आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याकेर हामी पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ । (रुदैँ) कसरी बाँचौं म यो दुनियाँमा ।

