काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृतिबिना इन्टरनेट प्याकेज परिवर्तन तथा मूल्य वृद्धि नगर्न सेवा प्रदायकहरूलाई चेतावनी दिएको छ। प्राधिकरणले स्वीकृत इन्टरनेट प्याकेज, ब्यान्डविथ, गति र महसुलदरको विवरण सार्वजनिक गर्नसमेत निर्देशन दिएको हाे ।
पछिल्ला दिनमा केही इन्टरनेट सेवा प्रदायकले प्राधिकरणबाट स्वीकृत भएका महसुलदर तथा प्याकेजको विवरण सार्वजनिक नगरेको र विगतमा उपलब्ध गराउँदै आएका प्याकेज नियामकको स्वीकृतिबिना परिवर्तन गरी मूल्य वृद्धि गरेको भन्दै उपभोक्ताबाट गुनासो आएपछि प्राधिकरणको ध्यानाकर्षण भएको हो।
प्राधिकरणका अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम सेवा प्रदायकले ग्राहकलाई सेवा उपलब्ध गराएबापत लिने महसुलदर प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराउनुपर्छ। स्वीकृत महसुलदरको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नु पनि कानुनी दायित्व हो।
प्राधिकरणले उपभोक्ताले आफ्नो इच्छाअनुसार इन्टरनेट प्याकेज छनोट गर्न पाउने अधिकार सुनिश्चित गर्न सबै स्वीकृत प्याकेजको पूर्ण विवरण सम्बन्धित सेवा प्रदायकका आधिकारिक वेबसाइट, मोबाइल एप तथा ग्राहक सेवा केन्द्रमा स्पष्ट र पारदर्शी रूपमा प्रकाशित गर्न निर्देशन दिएको छ।
प्रकाशित विवरणअनुसार नै सेवा उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ। स्वीकृत दरभन्दा फरक दरमा सेवा प्रवाह गरेको वा प्याकेजको विवरण सार्वजनिक नगरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम हदैसम्मको कानुनी कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ।
प्राधिकरणले असोज २५, २०८३ मा जारी गरेको विज्ञप्तिमार्फत सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरूलाई प्रचलित कानुन र अनुमतिपत्रका सर्त पालना गर्न सचेत गराएको हो।

