काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा जिल्लाका दुई पुलमा क्षति पुर्याएको छ। सडक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोला पुल बाढीले पूर्ण रूपमा बगाएको छ।
त्यस्तै, गोरखा र धादिङ जिल्लालाई जोड्ने आरुघाट पुलको २२ मिटर लामो आरसीसी (प्रबलित सिमेन्ट कंक्रिट) संरचना बाढीले बगाएको छ।
कुल ६० मिटर ट्रस र २५ मिटर आरसीसी संरचना रहेको उक्त पुलको ट्रस भाग भने बाँकी रहेको सडक विभागले जनाएको छ। बाँकी संरचनामा बेलीब्रिज जडान गरेर आवागमन सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको विभागको भनाइ छ।
बाढीबाट पुलमा भएको क्षतिको अवस्था यकिन गर्न विस्तृत प्राविधिक मूल्यांकन भइरहेको विभागले जनाएको छ। प्राविधिक मूल्यांकनपछि पुलको क्षतिको वास्तविक अवस्था र पुनः सञ्चालनका सम्भावनाबारे स्पष्ट हुने विभागले उल्लेख गरेको छ।

