२०८३, कार्तिक १८ गते

  • समाचार
  • प्रधानमन्त्रीको भारत भ्रमणमा जनकपुर–अयोध्या रेल सेवा...

प्रधानमन्त्रीको भारत भ्रमणमा जनकपुर–अयोध्या रेल सेवा उद्घाटनको तयारी, दुवै देशका अधिकारी छलफलमा

प्रधानमन्त्रीको भारत भ्रमणमा जनकपुर–अयोध्या रेल सेवा उद्घाटनको तयारी, दुवै देशका अधिकारी छलफलमा

images
शुक्रवार, कार्तिक १३ २०८३१०:२८
शुक्रवार, कार्तिक १३ २०८३१०:२८
  • images

    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
    काठमाडौँ । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । 

    प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।

    “प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौैँ”, प्रबन्ध सञ्चालक पराजुलीले भने, “यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।” उद्घाटनको मिति तय नभए पनि प्रधानमन्त्रीको भारत भम्रणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहले  मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ । 

    जनकपुरधामबाट अयोध्यासम्म रामायण सर्किटअन्तर्गत विशेष रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए । नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

    केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेका थिए ।

    जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए ।

    विशेष रेल सेवा सञ्चालनले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने छ । हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend