काठमाडौँ । बुढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण, शव दाह, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको हो । देवघाटमा शव दाह गर्नेहरुलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला, रिक्सामा व्यापार नगर्न आग्रह गरिएको छ । मुग्लिनसम्म बाढीको उच्च जोखिम रहेको जनाइएको छ ।
बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम
बुढीगण्डकी बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ।
चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ।
बाढीसम्बन्धी जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ।