२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ‘सर्च कमिटी’लाई पूर्णता दिएर संक्रमणकालीन न्यायसम्बन्धी...

‘सर्च कमिटी’लाई पूर्णता दिएर संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्ने ३ दलबीच समझदारी

‘सर्च कमिटी’लाई पूर्णता दिएर संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्ने ३ दलबीच समझदारी

बिहिवार, कार्तिक १ २०८१०३:५७
बिहिवार, कार्तिक १ २०८१०३:५७
  • images

    काठमाडौं ।  सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग (टीआरसी) गठनका लागि ‘सर्च कमिटी’लाई पूर्णता दिने सत्तारूढ र प्रतिपक्षी दलबीच सहमति भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताबीचको बैठकले सर्च कमिटीलाई टुंग्याउने समझदारी गरेको हो। 

    माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतका अनुसार बैठकमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयसँग जोडिएको संक्रमणकालीनसम्बन्धी आयोग गठन सम्बन्धमा छलफल भएको थियो। अघिल्लो सरकारका पालमा सर्च कमिटी गठन गरिएको थियो। 

    त्यसले पूर्णता प्राप्त गर्न बाँकी रहेको थियो। बिहीबार तीन दलबीचको बैठकमा सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अगाडि बढाउने भन्ने बारेमा छलफल भएको हो। 

    प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने छ।  बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागिता थियो। 

    त्यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र महान्यायाधिवक्ता रमेश वडाल पनि सहभागी थिए। संक्रमणकालीन आयोगसम्बन्धी कानूनलाई संशोधन गर्ने विधेयक भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend