काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसमा सवार १९ जनाकै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो । उपचारका क्रममा चार बालबालिका र एक वृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ममता तिवारी, अशिम कँडेल र नामथर नखुलेका दुई बालिका छन् । उनीहरू करिब १२ देखि १४ वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पोखरा महानगरपालिका–२८ का ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ । उनी उपचारका लागि अस्पताल जान बसमा लिफ्ट मागेर चढेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
१४ जना घाइते, एकको अवस्था गम्भीर
दुर्घटनामा घाइते भएका १४ जनामध्ये तीन जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
गण्डकी मेडिकल कलेजमा उपचाररत तीनै जना विद्यार्थी हुन् । उनीहरू १६ वर्षका छन् र कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था मध्यम रहेको छ ।
गण्डकी अस्पतालमा उपचाररत ११ जनामध्ये एक विद्यार्थीको अवस्था गम्भीर छ । अन्य घाइतेको अवस्था मध्यम रहेको प्रारम्भिक विवरणमा उल्लेख छ । अधिकांश घाइतेको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा १३ देखि १६ वर्ष उमेर समूहका विद्यार्थी तथा बस चालक ५७ वर्षीय तुलबहादुर गुरुङ रहेका छन् ।
उद्धारमा खटिएका प्रहरी जवान पनि घाइते
दुर्घटनामा परेकाहरूको उद्धार गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

