२०८३, आश्विन २८ गते

images
  • समाचार
  • रास्वपाले प्रत्यक्ष निर्वाचनका उम्मेदवार छनोटमा पनि...

रास्वपाले प्रत्यक्ष निर्वाचनका उम्मेदवार छनोटमा पनि प्रि–प्राइमरी इलेक्सन नै अपनाउने

रास्वपाले प्रत्यक्ष निर्वाचनका उम्मेदवार छनोटमा पनि प्रि–प्राइमरी इलेक्सन नै अपनाउने

images
बिहिवार, पौष २४ २०८२०२:०५
बिहिवार, पौष २४ २०८२०२:०५
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार छनोट गर्न यसअघि समानुपातिक निर्वाचनमा प्रयोग गरिएको प्रि–प्राइमरी इलेक्सन मोडालिटीलाई निरन्तरता दिने भएको छ । पार्टीका अनुसार मोडालिटीमा भने कुनै अन्योल छैन, तर प्रयोग हुने मापदण्ड र त्यसको मतभारका विषयमा आन्तरिक छलफल जारी छ ।

    पार्टीले सोही मोडालिटीअनुसार उम्मेदवारीका लागि दरखास्त आह्वान गरिसकेको छ । सहप्रवक्ता प्रतिभा रावलका अनुसार मंगलबार राति बसेको सचिवालय बैठकपछि सार्वजनिक सूचनामा उम्मेदवारी दिने अन्तिम समय पुस २६ गते राति १२ बजेसम्म तोकिएको छ ।

    रावलका अनुसार प्रत्येक निर्वाचन क्षेत्रका पार्टी क्याडरहरूले आफ्नै क्षेत्रका उम्मेदवार आकांक्षीलाई मतदान गर्न पाउनेछन् । सो मतदानबाट पहिलो हुने उम्मेदवार पार्टीको तर्फबाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्नेछन् । “पहिलो मत प्राप्त गर्नु एउटा मापदण्ड हो, अन्य मापदण्डका विषयमा छलफल भइरहेको छ,” रावलले भनिन् ।

    यसअघि रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गरेको थियो । प्राइमरी इलेक्सन हुने अवस्थामा सिफारिस उपसमिति किन आवश्यक पर्‍यो भन्ने प्रश्नमा रावलले पार्टी जनमतको पूर्वपरीक्षणबाट पछि नहट्ने स्पष्ट पारिन् । “पहिले पार्टीभित्र लोकप्रियता मापन गरेर मात्रै जनतामा जाने हाम्रो नीति हो,” उनले भनिन् ।

    रास्वपाले समानुपातिकतर्फ प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गरे पनि सो प्रक्रिया विवादरहित भने रहन सकेको थिएन । त्यतिबेला प्राइमरी इलेक्सनलाई ५० प्रतिशत मतभार दिइएको थियो भने बाँकी ५० प्रतिशत जटिल मापदण्डमार्फत मूल्यांकन गरिएको थियो । यही मोडालिटी प्रत्यक्ष निर्वाचनमा व्यवहारिक नदेखिएकाले समीक्षा आवश्यक भएको सहप्रवक्ता रमेश प्रसाईंले बताए ।

    “यसअघि पूर्ण डिजिटल विधि प्रयोग गर्‍यौं, अब कतिपय स्थानमा भौतिक (फिजिकल) विधि पनि अपनाउनुपर्ने देखिएको छ,” प्रसाईंले भने ।

    पछिल्लो समय पार्टीमा विभिन्न समूह र दल समाहित भएपछि सबैलाई समेट्ने गरी उम्मेदवार छनोट प्रक्रिया परिमार्जन गर्नुपर्ने दबाब बढेको उनले बताए । बालेन समूह, उज्यालो नेपाल पार्टी, थारुवान समूहलगायत रास्वपामा समाहित भइसकेकाले सहमतिका आधारमा पनि छनोट गर्नुपर्ने बहस चलिरहेको छ ।

    एकीकरणपछि पार्टीको संगठनात्मक संरचना समेत परिवर्तन भएको भन्दै प्रसाईंले नेता र नेतृत्वको स्वरूप बदलिएकाले उम्मेदवार छनोटका आधारहरू पनि समयानुकूल परिमार्जन गर्नुपर्ने अवस्था आएको बताए ।

    यद्यपि रास्वपाले अन्य दलभन्दा फरक देखिने प्रि–प्राइमरी इलेक्सनको अभ्यासलाई निरन्तरता दिनुपर्नेमा नेतृत्व एकमत देखिएको छ । “प्रि–प्राइमरीबाट पछि हट्ने कुरा हुँदैन, तर मापदण्डमा फेरबदल गर्न सकिन्छ,” प्रसाईंले भने ।

    भर्खरै पार्टीमा समाहित भएका समूहका नेताहरूले भने हालको विधिले आफूहरूलाई समेट्न नसक्ने आशंका व्यक्त गरेका छन् । ती आशंकालाई सम्बोधन गर्ने गरी मापदण्ड निर्माण गर्न व्यापक बहस आवश्यक रहेको सहप्रवक्ता रावलले बताइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend