काठमाडौँ । बडादसैँअन्तर्गत आज महानवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। नवरात्रको नवौँ दिन आज दुर्गा देवीको नवौँ स्वरूप माता सिद्धिदात्री तथा महालक्ष्मीको विशेष पूजाआराधना गरिन्छ।
महानवमीका अवसरमा कलपूर्जा, हातहतियार, मेसिनरी उपकरण तथा विभिन्न सवारीसाधनको पूजा गर्ने परम्परा छ। यस दिन दसैँघर, कोत तथा शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित पूजा गरिन्छ। शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला, मुला, काँक्रो तथा जटा नरिवलको बलि दिने र पायस (खिर) चढाउने चलन छ।
यसै अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर सर्वसाधारण भक्तजनका लागि खुला गरिएको छ। बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शनका लागि मन्दिर खुला गरिएको छ।
तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने परम्परा छ। त्यसैले आज मन्दिरमा दर्शन गर्न हजारौँ भक्तजनको भीड लाग्ने गर्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १०ः३९ बजे देवीलाई स्थिरासनमा राखिएको थियो।
महानवमीको अवसरमा तलेजु भवानीलाई मूलचोकमै राखेर आज राति कालरात्रि पूजा गरिनेछ। कालरात्रि पूजाका क्रममा ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने दरबार हेरचाह अड्डाले जनाएको छ।
विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर पूजाआराधना गरिनेछ। कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान १०ः५१ बजे देवीलाई यात्रा गराइने र बिहान ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने समितिले जनाएको छ।


