२०८३, आश्विन ३० गते

images
  • सूचना-प्रविधि
  • सुनचाँदी व्यवसायलाई डिजिटल बनाउँदै मातृका टेक्नोलोजी,...

सुनचाँदी व्यवसायलाई डिजिटल बनाउँदै मातृका टेक्नोलोजी, सार्वजनिक भयो ‘जेजे लाइट’

सुनचाँदी व्यवसायलाई डिजिटल बनाउँदै मातृका टेक्नोलोजी, सार्वजनिक भयो ‘जेजे लाइट’

images
शुक्रवार, आश्विन ३० २०८३०७:२९
शुक्रवार, आश्विन ३० २०८३०७:२९
  • images

    काठमाडौं । नेपालको सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित मातृका टेक्नोलोजीले ‘जेजे लाइट’ (JJ Lite) सार्वजनिक गरेको छ। गहना व्यवसायको दैनिक कारोबार, बिलिङ, खरिद व्यवस्थापन, मौज्दात, कालिगढको हिसाब तथा लेखा व्यवस्थापनलाई एउटै प्रणालीबाट सञ्चालन गर्न सकिने गरी यो प्रविधि विकास गरिएको कम्पनीले जनाएको छ।

    गत आठ वर्षदेखि ‘जे–ज्वेलरी सफ्टवेयर’ मार्फत गहना व्यवसायलाई सेवा दिँदै आएको अनुभवका आधारमा कम्पनीले नेपाली गहना व्यवसायको वास्तविक कार्यशैली र आवश्यकतालाई ध्यानमा राखेर नयाँ प्रणाली ल्याएको हो।

    गहना व्यवसाय विस्तार हुँदै जाँदा कारोबारको विवरण, खरिद–बिक्री, मौज्दात, कालिगढको हिसाब, ग्राहकसँगको सम्बन्ध र व्यावसायिक कागजात व्यवस्थित राख्नुपर्ने आवश्यकता बढिरहेको छ। यही आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्यसहित जेजे लाइट विकास गरिएको कम्पनीको भनाइ छ।

    एउटै प्रणालीमा कारोबारदेखि लेखासम्म

    जेजे लाइटमा गहना पसलको दैनिक सञ्चालनलाई सहज बनाउने विभिन्न सुविधा समावेश छन्। यसमा बिलिङ तथा कारोबार व्यवस्थापन, खरिद व्यवस्थापन, मौज्दात विवरण, कालिगढ व्यवस्थापन, ग्राहक सम्बन्ध व्यवस्थापन, कागजात व्यवस्थापन र नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) मा आधारित लेखा व्यवस्थापन सुविधा उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

    प्रणालीलाई नेपाली र अंग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिन्छ। कम्प्युटरमा मात्र सीमित नराखी मोबाइल, ट्याब्लेट र कम्प्युटरबाट समेत सञ्चालन गर्न मिल्ने गरी तयार पारिएकाले व्यवसायीलाई आवश्यकताअनुसार विभिन्न उपकरणबाट आफ्नो व्यवसायको विवरण हेर्न र व्यवस्थापन गर्न सहज हुने कम्पनीको अपेक्षा छ।

    जेजे लाइट साना तथा ठूला गहना व्यवसायीलाई लक्षित गरी मासिक ९९९ रुपैयाँदेखि सुरु हुने मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। इच्छुक व्यवसायीले कम्पनीको वेबसाइट www.jjnepal.com मार्फत यसबारे जानकारी लिन सक्नेछन्।

    गहना व्यवसायका लागि थप डिजिटल सेवा

    मातृका टेक्नोलोजीले जेजे लाइटसँगै गहना व्यवसाय र ग्राहकलाई लक्षित विभिन्न डिजिटल सेवाको अवधारणा पनि अघि सारेको छ।

    कम्पनीका अनुसार ‘जेजे मार्ट’मार्फत गहना पसललाई डिजिटल बजारसँग जोड्ने, ‘जेजे बचत’मार्फत ग्राहकलाई नियमित रूपमा रकम जम्मा गर्दै सुनचाँदी बचत गर्ने व्यवस्थित अवसर उपलब्ध गराउने र ‘जेजे पात्रो’मार्फत गहना व्यवसायसँग सम्बन्धित पात्रो तथा आवश्यक जानकारी उपलब्ध गराउने लक्ष्य राखिएको छ।

    त्यस्तै, कृत्रिम बुद्धिमत्तामा आधारित ‘जेजे साथी’ले प्रयोगकर्तालाई प्रणालीको प्रयोग र आवश्यक जानकारी प्राप्त गर्न सहयोग गर्ने अवधारणा अघि सारिएको छ। ‘जेजे कम्युनिटी’मार्फत गहना व्यवसायीबीच ज्ञान, अनुभव तथा विचार आदानप्रदान गर्ने र ‘जेजे पाठशाला’मार्फत व्यवसायी तथा सम्बन्धित व्यक्तिलाई सिकाइ र व्यावसायिक ज्ञानका सामग्री उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ।

    ग्राहकको रुचि र ज्योतिषीय मान्यताका आधारमा गहना छनोट गर्न सहयोग गर्ने तथा रत्न र धातुसम्बन्धी सुझाव उपलब्ध गराउने सुविधा पनि यस डिजिटल पहलको अवधारणामा समेटिएको छ।

    नेपाली कालिगढको सीपलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य

    नेपालको गहना उद्योगको प्रमुख शक्ति यहाँका कालिगढको सीप, सिर्जनशीलता र मौलिकता भएको उल्लेख गर्दै कम्पनीले परम्परागत सीपलाई आधुनिक व्यवसाय व्यवस्थापन, गुणस्तर र प्रविधिसँग जोडेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने दीर्घकालीन सोच अघि सारेको छ।

    कम्पनीका अनुसार जेजे लाइटको उद्देश्य दैनिक कारोबार व्यवस्थापनमा मात्र सीमित छैन। साना तथा मझौला गहना पसललाई प्रविधिको पहुँचमा ल्याउने, व्यवसायमा पारदर्शिता र व्यावसायिकता बढाउने तथा कालिगढ र व्यवसायीलाई आफ्नो क्षमता विस्तार गर्न सहयोग गर्ने लक्ष्य पनि यसमा समेटिएको छ।

    गहना व्यवसायमा महिलाको सहभागिता र साझा व्यवस्थापनलाई समेत कम्पनीले प्राथमिकता दिएको छ। पति–पत्नी दुवै मिलेर व्यवसाय सञ्चालन गर्ने पसलको अवलोकनबाट साझा व्यवस्थापनको सकारात्मक अभ्यास देखिएको कम्पनीको अनुभव छ। व्यवसायसम्बन्धी जानकारीमा सहज पहुँच उपलब्ध गराएर महिलालाई सक्रिय साझेदार र निर्णयकर्ताका रूपमा अघि बढाउन सहयोग गर्ने लक्ष्य कम्पनीले राखेको छ।

    मातृका टेक्नोलोजीका अनुसार प्रविधि परम्पराको विकल्प नभई त्यसलाई थप व्यवस्थित, दिगो र सम्भावनायुक्त बनाउने माध्यम हो। नेपाली गहनाको पहिचान र कालिगढको सीप संरक्षण गर्दै आधुनिक व्यवसाय व्यवस्थापनसँग जोड्नु यस पहलको दीर्घकालीन उद्देश्य रहेको कम्पनीले जनाएको छ।

    यस अभियानलाई सफल बनाउन गहना व्यवसायी, कालिगढ, ग्राहक, सम्बन्धित निकाय तथा सञ्चारमाध्यमसँग सहकार्य गर्ने अपेक्षा पनि कम्पनीले गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend