काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धनलाई विश्वव्यापी डिजिटल माध्यममार्फत विस्तार गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले टिकटकसँगको सहकार्यमा ‘#VisitNepal’ प्रवर्द्धनात्मक अभियान सञ्चालन गरेको छ। यस अभियानमार्फत नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, सांस्कृतिक सम्पदा, मौलिक परम्परा, साहसिक गतिविधि तथा स्थानीय जीवनशैलीलाई सिर्जनात्मक भिडियो सामग्रीमार्फत विश्वभर प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।
अभियानमा सहभागी हुन नेपाल पर्यटन बोर्डले यात्राप्रेमी, सामग्री निर्माता, पर्यटन व्यवसायी तथा आम नागरिकलाई नेपालका विविध पर्यटकीय अनुभव समेटिएका आकर्षक भिडियो निर्माण गरी टिकटकमा पोस्ट गर्न आह्वान गरेको छ। नेपालको सुन्दरता, संस्कृति, गन्तव्य र जनजीवनलाई आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरिएका भिडियोले अन्तर्राष्ट्रिय दर्शकमाझ नेपालको पहिचान विस्तार गर्न तथा नेपाल भ्रमणका लागि प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बोर्डले लिएको छ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख अधिकृत हिक्मत सिंह ऐरले डिजिटल माध्यममार्फत नेपालको पर्यटन कथालाई विश्वभर पुर्याउन यस अभियानले महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताए । उनले भने, “टिकटकजस्ता डिजिटल प्लेटफर्म सिर्जनात्मक सामग्रीमार्फत नेपालको विविध पर्यटन अनुभवलाई विश्वसामु प्रस्तुत गर्ने प्रभावकारी माध्यम हुन्। ‘#VisitNepal’ अभियानमार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक जीवनशैली र यहाँका मानिसका आत्मीय अनुभवलाई विश्वभर पुर्याउन सबैलाई सहभागी हुन आग्रह गर्दछु। तपाईंले बनाएको एउटा भिडियोले पनि कसैलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्छ।”
साे अभियानमा सहभागी हुन टिकटकमा #VisitNepal खोजी गरी अभियानसम्बन्धी सामग्री हेर्न तथा आफ्नो भिडियोमार्फत सहभागिता जनाउन सकिनेछ। भिडियो पोस्ट गर्दा #VisitNepal, #NepalCalling र #photoNepal ह्यासट्याग प्रयोग गर्न बोर्डले आग्रह गरेको छ। सबैको सिर्जनात्मक सहभागिताबाट नेपालको पर्यटन प्रवर्द्धनलाई थप व्यापक र प्रभावकारी बनाउन सकिने बोर्डको विश्वास छ।



