काठमाडौं। नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) क्षेत्रलाई गुणस्तरीय बनाउने उद्देश्यका साथ सरकारले औपचारिक रूपमा ‘विद्यालय गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली ९त्तब्ब्०’ को सुरुवात गरेको छ।
बुधबार काठमाडौंमा आयोजित ‘गुणस्तरीय टीभीईटी अहिलेको आवश्यकता’ विषयक राष्ट्रिय सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले प्रणालीको उद्घाटन गर्दै यसको औपचारिक थालनी गरेका हुन्। उनले प्राविधिक शिक्षालाई वर्तमान यथार्थ अनुसार सुधार गर्नुपर्नेमा जोड दिए।
“डिजिटल उपकरणले रोजगारी र काम गर्ने शैलीमा व्यापक परिवर्तन ल्याएको छ। अबको आवश्यकता के हो भन्ने बुझेर अघि बढ्नुपर्छ,” मन्त्री पन्तले भने, “गुणस्तर सुधारबिना देशको प्राविधिक शिक्षा प्रणाली सबल बन्न सक्दैन।”
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) का सदस्य सचिव महेश भट्टराईले प्रत्यायन प्रणालीलाई नेपालको TVET प्रणाली सुधारको लागि अनिवार्य कदम भएको बताएका छन्। “गुणस्तर कागजमा मात्र होइन, परिणाममा देखिनुपर्छ,” उनले भने, “रोजगारीसँग जोडिएको शिक्षालाई उद्योगसँग एकीकृत गर्नुको विकल्प छैन।”
सम्मेलनमा प्रमुख वक्ताको रूपमा स्विट्जरल्यान्डको ETH Zurich की प्रा. डा. उर्सुला रेनोल्डले अन्तर्राष्ट्रिय अभ्यास, उद्योग साझेदारी, विद्यार्थी–केन्द्रित सिकाइ र TVET सुधार सम्बन्धी विभिन्न सन्दर्भमा प्रस्तुति दिइन्। उनले नेपालले अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्दै आफ्नै सन्दर्भअनुकूल रणनीति तयार गर्नुपर्ने धारणा राखिन्।
कार्यक्रममा डा. उषा भण्डारीको संयोजनमा ‘टीभीईटी विद्यालयहरूको गुणस्तर हामी कहाँ उभिएका छौं ?’ शीर्षकमा विशेष प्यानल छलफल समेत गरिएको थियो, जसले TVET प्रणालीका अवसर, चुनौती र सुधारका प्राथमिकतामा खुला संवाद गर्यो।
कार्यक्रमको समापन सत्रमा स्वीस कन्ट्याक्ट नेपालका देशीय निर्देशक सञ्जय कार्कीले युवाको रोजगारी क्षमता अभिवृद्धिका लागि निजी क्षेत्रको संलग्नता र साझेदारी अपरिहार्य भएको उल्लेख गरे। त्यस्तै, शिक्षा मन्त्रालयका सहसचिव प्रसाद भट्टराईले सम्मेलनमा उठेका बुँदाहरूलाई समेट्दै भने :“प्रमाणीकरण भनेको गुणस्तरमा दीर्घकालीन सुधारको यात्रा मात्र हो, यसको प्रभाव शिक्षाको मौलिक रुपान्तरणमा देखिनुपर्छ।”

