काठमाडौँ । मंगलबार बिहानदेखि देशभर मनसुनी वायुको प्रभाव देखिन थालेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ ।
यतिबेला (मंगलबार बिहान) देशभरको मौसम साधारणतया बदली छ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा पनि रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा दिउँसो धेरै भारी वर्षाको पनि सम्भावना छ ।
राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

