काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । कांग्रेस-एमालेबीच नयाँ समीकरण बनेसँगै माओवादी केन्द्रले ७ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेस गरेका थिए ।
कँडेलका पक्षमा कांग्रेस, एमाले र स्वतन्त्रसहित २३ जना सांसदले मत दिए । ४० सदस्यीय प्रदेशसभामा मतदानमा ३७ जना सांसद सहभागी थिए । मुख्यमन्त्री कँडेलको विपक्षमा १४ मत परेको छ । कर्णाली प्रदेशसभामा कांग्रेसका १४, एमालेका सभामुखसहित १०, माओवादी केन्द्रका १३ एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक-एक सांसद छन् ।
कांग्रेसका १४ सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही र राप्रपा सांसद सन्तोषी शाही अनुपस्थित भए ।

