काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलनमा प्रगतिशिल कृषिकर्मी संघ नेपालले एक्यवद्धता जनाएको छ ।
प्रगतिशिल कृषिकर्मी संघ नेपालले एक विज्ञप्ती जारी गर्दै कृषि प्राविधिक कर्मचारीको आन्दोलनप्रति एक्यवद्धता जनाएको हो ।
नेपालमा संघीयता पश्चात कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतका कर्मचारीहरूको समायोजन गर्ने सन्दर्भमा संघ अन्तर्गत समायोजन गरिएका कर्मचारीहरूको पददर्ता तथा पदस्थापना नगरिएको कारणले गर्दा वृद्धि विकास ठप्प भई रिक्त रहेका पदहरूमा पदपूर्ति हुन नसकेकोले उक्त समस्याको समाधानको लागि नेपाल कृषि सेवा तर्फका कर्मचारीहरु झन्डै एक महिना देखि आन्दोलनमा रहेका छन् ।
प्रगतिशील कृषिकर्मी संघ नेपाल (पान) ले उनिहरुको आन्दोलन प्रति समर्थन तथा एकबद्धता जनाएको अध्यक्ष जगदिशनाथ योगीले बताए । कृषि कर्मचारीहरूले आफ्नो वृद्धि विकास सुनिश्चित होस् भनी उठान भएका संवेदनशील तथा जायज मागहरू सरकारले यथाशीघ्र पूरा गर्नुपर्ने विचारमा आफुहरु सहमत रहेको योगीले बताए ।
नेपाल कृषि सेवा तर्फका प्राविधिक जनशक्तीलाई कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन गरी तत तत निकायमा खटाउने क्रममा संघको कार्यक्षेत्र र जिम्मेवारी पुरा गर्न संघमा समायोजन गरिएका कर्मचारीहरुको पद दर्ता लगायतका प्रशासनिक प्रकृया तथा विधिमा गम्भिर त्रुटी भएको योगीले बताए । त्रुटीका कारण कृषि प्राबिधिक कर्मचारीहरु वृत्ति विकासको अवसरवाट बञ्चीत हुँदा मनोवल र उत्प्रेरणा कमजोर भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राष्ट्र निर्माणको मुख्य अभिभारा बोकी कृषकको खेत बारीमा प्रबिधि प्रसार गर्ने देखी राष्ट्रको समग्र अर्थतन्त्रलाई मजवुत वनाउने कार्यमा महत्वपुर्ण योगदान दिईरहेका कृषि प्राविधिकहरुको उच्च मनोवल सहित वृती विकास सुनिश्चीत गरी राष्ट्र निर्माणको अभियानमा प्रभावकारी रुपमा खटाउनु राज्यको अनिवार्य दायीत्व रहेको प्रगतिशिल कृषिकर्मी संघ नेपालले उल्लेख गरेको छ ।
कृषि प्राविधिक कर्मचारीका जायज मागहरुलाई तुरुन्त सम्वोधन गरी उच्च मनोवल सहित पुनः कार्य सम्पादन गर्ने वातावरण तयार गर्न संघले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ । हाल चलिरहेको संघर्षका कार्यक्रममा प्रगतिशिल कृषिकर्मी संघ नेपालको पुर्ण रुपमा समर्थन रहेको बताउँदै आन्दोलनप्रती ऐक्यबद्धता जनाएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको आग्रहमा स्थगित भएको आन्दोलन बुधवारबाट पुनः सुरु भएको छ । गत असार १६ गतेदेखि धर्नामा बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूले मन्त्रीको आग्रहमा साउन २ गते आन्दोलन स्थगित गरेका थिए । कृषिमन्त्री अधिकारीले १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै आश्वासन दिएपछि कर्मचारीहरूले आन्दोलन स्थगित गरेका थिए । तर, मन्त्रीको आश्वासन र निर्देशनले काम नगरेपछि फेरि उनीहरू बुधवारदेखि मन्त्रालय अगाडि धर्नामा बसेका छन् ।
कृषि मन्त्रालयमा समायोजन भएका कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै आन्दोलनमा छन् । संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने, संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषि तर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने उनीहरूको माग छ ।

