काठमाडौँ । विराटनगरको रानीदेखि धरानसम्म करिब ७ किलोमिटर क्षेत्रमा पोडवे ( तारमा आधारित सो प्रणाली) निर्माण हुने भएको छ । झट्ट हेर्दा केवलकार जस्तो देखिने पोडवे स्ट्रीङ टेक्नोलोजीमा आधारित तारमा गुड्ने माइक्रो रेल प्रविधि हो । पोडवे भनेको रेल प्रविधि हो ।
कोशी लगानी प्राधिकरण तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुमतिमा उक्त क्षेत्रमा पहिलो चरणको काम सुरु हुन लागेको हो ।
नेपाल पोडवे कम्पनीको लगानी तथा प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक उक्त क्षेत्रमा पोडवे निर्माणको काम सुरु हुन लागेको हो । मुख्यमन्त्री कार्यालयले पोडवे का लागि आवश्यक डीपीआरको तयारी थालेको पोडवे नेपालका उपाध्यक्ष निल भट्टाराई बताउँछन् ।
कम्पनीले आवश्यक शुल्क समेत बुझाई सकेकाले डीआरको स्वीकृति छिट्टै पाउने आशा व्यक्त गरे । उनले मन्त्रालयले स्वीकृति दिएको एक वर्षभित्रमा ७ किलोमिटर क्षेत्रमा निर्माण गर्ने पोडवेको डीपीआर तयार पारिसक्ने बताए ।
उनले कोसी प्रदेशअन्तर्गत जोगमनी–धरान–चतराखण्ड हुँदै पूर्व जोड्नेगरी ८३ किलोमिटरमा उक्त प्रविधि विस्तार गर्न सकिने गरी अध्ययन गरिसकेको छ । पहिलो चरणमा ७ किलोमिटर क्षेत्रमा मात्रै डीपीआर निर्माणको तयारी थालिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंसिर ११ गते एक पत्र पठाउँदै पोडवे निर्माणका लागि डीपीआरमा समन्वय गर्न आग्रह गरेको थियो ।
‘रानी विराटनगर धरान सडक खण्ड’ को मिडियनको जग्गा प्रयोग गरी पोड वे÷मोनो रेल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न नेपाल पोड वे कम्पनीलाई अनुमति दिइएको भन्दै पत्राचार गरेको थियो ।
मन्त्रालयले मुख्यमन्त्री कार्यालयलाई सडकमा पछि कुनै असर पर्ने भएमा सोही बखत छुट्टै निर्णय हुने गरी पूर्व सम्भाव्यता अध्ययन गर्ने सहमति दिइएको जनाएको थियो । मंसिर ६ गते मन्त्रिस्तरीय निर्णय भएको भन्दै सम्भाव्यत्ता अध्ययनका लागिसहजीकरण गरिदिन मन्त्रायलले मुख्यमन्त्री कायालयलाई पत्राचार गरेको थियो ।
कोशी प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले पोडवे निर्माणको तयारी थालिएको बताए । उनले निजी क्षेत्रको सहयोगमा पहिलो पटक ७ किलोमिटर क्षेत्रमा निर्माणका लागि तयारी थालिएको बताए ।
‘जमादार ग्रुप अफ कम्पनी कम्पनी हेटौँडाले हामीलाई पोडवे निर्माणका लागि प्रस्ताव गरेको थियो । हामीले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धान तथा केन्द्र सरकारको सहयोगमा लगभग अन्तिम चरणमा पुगेका छौँ । अब बस्ने प्राधिकरण बोर्ड बैठकमा पेश हुन्छ’, उनले भने ।
उनले अब बस्ने बैठकमा डीपीआरका लागि प्रस्ताव पेश गर्ने तयारी प्राधिकरणको रहेको बताए ।
जमादार ग्रुप अफ कम्पनीका निर्देशक अमित अग्रवालले नेपाल पोडवे कम्पनीको प्राविधिक सहयोगमा कोशीमा पोडवे निर्माणको तयारी थालिएको बताए । उनले २५ करोड रुपैयाँ लगानीमा डीपीआर निर्माणका लागि अनुमति थालिएको भन्दै थप लगानीका लागि विदेशी कम्पनीसँग सहकार्य हुने बताए ।
‘हामीले अहिले २५ करोड रुपैयाँमा डीपीआर बनाउन कोशी प्रदेश सरकारसँग आग्रह गरेका छाैँ । उहाँहरुले पहिलो चरणको स्वीकृति पनि दिइसक्नुभयो । डीपीआर तयार भएपछि थप निर्माणका लागि हामीले विदेशी कम्पनीसँग सहयोग लिने हो । हामीलाई लगानी गर्न विदेशी कम्पनीहरु तयार छन्, जति छिटो हामीलाई सरकारले अनुमति दिनुहुन्छ, त्यति छिटो हामीले निर्माण गर्नेहो’, उनले भने ।
लगानी सम्मेलनमा पोडवे राखिने
कोशी प्रदेश सरकारले आगामी बैशाख तेस्रो साता गर्न लागेको लगानी सम्मेलनमा पोडवे लाई समेवेश गर्ने तयारी गरेको छ । प्रदेशमा कृषि, पर्यटन, उद्योगलाई पहिलो प्राथमिकतामा राखेर लगानी सम्मेलनको आन्तरिक गृहकार्य भैरहदा पोडवेलाई समेत समावेश गर्न लागिएको कोशी प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए ।
बैशाख १८ र १९ गते लगानी सम्मेलन गर्नेगरी गृहकार्य भईरहेको शर्माको भनाई छ । प्रदेशमा कम्तिमा १ खर्ब रुपैयाँ लगानी जुटाउने गरी विभिन्न परियोजनाहरु छनोट गर्ने काम भईरहको उनले बताए ।
कोशीमा पहिलो पटक लगानी सम्मेलनको आयोजना गरिएको हो । कोशि प्रदेश लगानी प्राधिकरण मार्फत अहिले विभिन्न परियोजनाहरु छनोटको काम भईरहेको छ ।
प्रदेशको समग्र आर्थिक विकास र समृद्धिका लागि आवश्यक स्रोतको पहिचान र परिचालन गर्ने वातावरण सिर्जना गर्न लगानी सम्मेलन आयोजनाग गरिएको प्रमुख सचिव शर्माको भनाई छ ।
कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधि, सहरी फोहोर व्यवस्थापन र पर्यटन क्षेत्रका विभिन्न ५० भन्दा बढी ठुला आयोजनाहलाई लगानी सम्मेलनमा सो केशका रुपमा राखिने प्रदेश सरकारले जनाएको छ ।
कहाँकहाँ भयो अध्ययन ?
काठमाडौं पोडवे कम्पनीले गरेको अध्ययन प्रतिवेदनले उपत्यकाभित्रका विभिन्न नगरपालिकालाई जोड्ने गरी १०० किलोमिटरमा पोडवे विस्तार गर्न सकिने औल्याएको थियो । जसअनुसार काठमाडौं चक्रपथ, कौशलटार–नैकाप, बुढानीलकण्ठ–कीर्तिपुर, तारकेश्वर–टोखा हुँदै चक्रपथ, रत्नपार्क–बानेश्वर हुँदै चक्रपथ, गोकर्णेश्वर–बौद्ध–आरुबारी–दक्षिणढोका क्षेत्रसम्म उक्त प्रविधि विस्तार गर्न सकिन्छ ।
कम्पनीले उपत्यकाका तीन जिल्लालाई समेट्ने गरी करिडोरमा पोडवे निर्माण गर्न सकिने गरी लगानी बोर्डमा प्रस्ताव पेश गरेको थियो ।
त्यसैगरी उपत्यकाबाहिर कर्णाली प्रदेशअन्तर्गत सुर्खेत–हुम्ला (लिमी) सम्म २३१ किलोमिटर क्षेत्रमा पनि पोडवे सञ्चालन गर्न सकिने गरी पूर्वसम्भाव्यता अध्ययन कार्य गरिएको भट्टराईले बताए । कर्णाली प्रदेश सरकारलाई उक्त अध्ययन रिपोर्ट बुझाइसकिएको उनले बताए ।
त्यस्तै लुम्बिनी क्षेत्रमा करिब ६ किलोमिटरमा पोडवे प्रविधि विस्तार गर्न अध्ययन भइसकेको र अध्ययन प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएको कम्पनीले जनाएको छ ।
पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प
के हो पोड्वे ? यो कत्तिको सुरक्षित हुन्छ ? नेपालमा सम्भावना कस्तो छ ?

