काठमाडौं । बेलायत भ्रमणमा रहेका कांग्रेस नेता एवं संघीय सांसद शेखर कोइरालाले जलवायु परिवर्तनका कारण नेपाललाई समस्या परेको भन्दै नेपालले त्यसको क्षतिपूर्ति पाउनु पर्ने विषय उठाएका छन् ।
बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँगको भेटघाटमा कोइरालाले जलवायु परिवर्तनका कारण नेपालका हिमश्रृंखलाहरु नाङ्गो हुँदै गएको बताए ।
उनले पानीका मुहानहरु सुक्नुका साथै बालीनाली र पशुपालनमा समेत प्रत्यक्ष असर देखिएको उल्लेख गरे ।
‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ । हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन्,’ अध्यक्ष केशरसँगको भेटमा कोइरालाले भने, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ । नेपालमा क्षतिपूर्ति पाउनुपर्ने विषयमा सहयोगका लागि बेलायतसित आग्रह पनि गर्दछु ।’
कोइरालाले ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडानको वातावरण मिलाउन बेकरसित आग्रह गरे । नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै कोइरालाले भने, ‘ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडान हुन सकेमा बेलायतबाट नेपाल जाने पर्यटकका लागि सहज हुनेछ ।’
कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरुको सेवा सुविधा समस्याको समाधानका लागि पनि बेलायत सरकार गम्भीर हुनुपर्ने विषयमा जोड दिए । सो अवसरमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदूत विपिन दुवाडीको समेत उपस्थिति रहेको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

