काठमाडौं । सरकारले अन्तरप्रदेश सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नयाँ भाडादरअनुसार यात्रुवाहक तथा मालवाहक सवारीको भाडा दूरी र सडकको प्रकृतिका आधारमा निर्धारण गरिएको हो।
विभागका अनुसार तराईका पक्की तथा ग्राभेल सडकमा २५० किलोमिटरभन्दा लामो दूरीका लागि प्रतिव्यक्ति प्रतिकिलोमिटर २ रुपैयाँ ९३ पैसा भाडा कायम गरिएको छ। त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिव्यक्ति प्रतिकिलोमिटर ३ रुपैयाँ भाडा तोकिएको छ।
काठमाडौं–पोखरा र पोखरा–नारायणगढ सडकखण्डमा भने प्रतिव्यक्ति प्रतिकिलोमिटर ३ रुपैयाँ २४ पैसा भाडा निर्धारण गरिएको छ। यी दर सामान्य यात्रुवाहक सेवाका लागि लागू हुनेछन्।
नयाँ व्यवस्थाअनुसार सम्बन्धित कार्यालयबाट डिलक्स सुविधा प्रमाणित भएका सवारीसाधनले सामान्य भाडामा २० प्रतिशत थप रकम लिन पाउनेछन्। सुपर डिलक्स प्रमाणित सवारीले डिलक्स भाडामा थप २० प्रतिशत लिन सक्नेछन्। यसअनुसार सुपर डिलक्स सेवाको भाडा सामान्य भाडाभन्दा ४४ प्रतिशतसम्म बढी हुनेछ।
सरकारले विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई तोकिएको सहुलियत अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरेको छ। सहुलियत प्रदान गर्ने क्रममा निश्चित रुट, कोटा वा दिनको सीमा तोक्न पाइने छैन। सहुलियत लिन यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्नेछ।
लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन बसमा दुई जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, चालक र सहचालकले परिचयपत्र वा निर्धारित पोसाक लगाउनुपर्नेछ।
तोकिएकोभन्दा बढी भाडा असुल गरेमा यात्रुले सरकारको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ को टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न सक्नेछन्।
मालवाहक सवारीसाधनतर्फ तराईका सडकमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी सडकमा १४ रुपैयाँ ७७ पैसा भाडा निर्धारण गरिएको छ। १० टन क्षमताको ट्रकलाई आधार मान्दा वीरगञ्ज–काठमाडौं पहाडी मार्गको भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवा–काठमाडौं मार्गको भाडा ३२ हजार १४१ रुपैयाँ कायम गरिएको छ।
सरकारले दूरी, सडकको प्रकृति र सवारीसाधनको सेवाको स्तरअनुसार भाडादर निर्धारण गर्दै यात्रुले तोकिएको दरअनुसार सेवा पाउने व्यवस्था गरेको छ।

