काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्ना एक भाग्यशाली समर्थकलाई एथरको विद्युतीय स्कुटर उपहार दिने भएको छ ।
तेस्रो संस्करणको एनपीएलका लागि सुदूरपश्चिम रोयल्ससँग एथर नेपाल यात्रा साझेदारका रूपमा जोडिएको हो । यस सहकार्यअन्तर्गत टोलीका समर्थकमध्ये एक जनाले एथरको स्कुटर प्राप्त गर्नेछन् । उपहार कार्यक्रममा सहभागी हुने प्रक्रियाबारे टोलीले केही दिनभित्र जानकारी दिने जनाएको छ ।
एथर नेपालका ब्रान्ड प्रमुख सलमान खानले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साह व्यक्त गरे । उनले नेपालको लोकप्रिय खेलकुद मञ्च र क्रिकेटप्रेमीको उत्साही समुदायसँग जोडिने अवसर एथरका लागि नयाँ र रोमाञ्चक अध्याय भएको बताए ।
उनका अनुसार यस सहकार्यको उद्देश्य एथर ब्रान्डप्रति आकर्षण बढाउनु, विद्युतीय यातायातलाई थप मानिसमाझ पुर्याउनु तथा एथर र क्रिकेटले प्रतिनिधित्व गर्ने ऊर्जा, महत्त्वाकाङ्क्षा र जोशलाई उत्सवका रूपमा मनाउनु हो । यसले समर्थक, ग्राहक र एथर परिवारका सदस्यका लागि एनपीएलको यो संस्करणलाई अझ रोमाञ्चक र यादगार बनाउने उनको विश्वास छ ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एथरसँगको सहकार्यले टोली र समर्थकबीचको सम्बन्ध थप बलियो बनाउने बताए । समर्थकलाई स्कुटर उपहार दिने अभ्यास नेपाली खेलकुदमा नयाँ भएको उल्लेख गर्दै उनले यसलाई ऐतिहासिक कदमका रूपमा व्याख्या गरे ।
उनले एथरसँगको साझेदारीले टोलीको यात्रा सहज बनाउनुका साथै समर्थकलाई टोलीसँग थप नजिकबाट जोडिन उत्साह प्रदान गर्ने बताए ।
यसैबीच, एथर नेपालले विद्युतीय सवारीसाधनको प्रयोगलाई विस्तार गर्न मर्मतसम्भार सेवा तथा चार्जिङ सञ्जाल विस्तार गर्दै आएको छ । कम्पनीका अनुसार हाल देशभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र र ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र सञ्चालनमा छन् ।
एथरको ‘एट सेभेन्टी ब्याट्री वारेन्टी’ योजनाअन्तर्गत तोकिएका सर्तअनुसार ब्याट्रीमा आठ वर्ष वा ८० हजार किलोमिटरमध्ये जुन पहिले पूरा हुन्छ, त्यति अवधिसम्मको वारेन्टी सुविधा उपलब्ध छ ।
एनपीएलका अघिल्ला दुवै संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्स यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको टोलीले तेस्रो संस्करणमा उपाधि जित्ने लक्ष्य राखेको छ ।



