२०८३, आश्विन २३ गते

images
  • समाचार
  • श्रेष्ठ र खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’,...

श्रेष्ठ र खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’, राष्ट्रपति पौडेलले गरे पुरस्कार प्रदान

श्रेष्ठ र खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’, राष्ट्रपति पौडेलले गरे पुरस्कार प्रदान

सोमवार, भाद्र ८ २०८३०८:०९
सोमवार, भाद्र ८ २०८३०८:०९
  • images

    काठमाडौं । सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका डा. रामकण्ठ माकाजु श्रेष्ठ र डा. रामेश्वर प्रसाद खनाल ‘हेमबहादुर मल्ल सम्मान’बाट सम्मानित भएका छन्।

    नेपाल जन–प्रशासन संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठ र खनाललाई सम्मान प्रदान गरेका हुन्।

    ‘हेमबहादुर मल्ल सम्मान पुरस्कार–२०८१’ धुलिखेल अस्पतालका चिकित्सक डा. रामकण्ठ माकाजु श्रेष्ठलाई प्रदान गरिएको हो। अस्पतालको स्थापना, सञ्चालन तथा गुणस्तरीय सार्वजनिक सेवाको विकासमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको संघले जनाएको छ।

    त्यस्तै, ‘हेमबहादुर मल्ल सम्मान–२०८२’ पूर्वअर्थसचिव तथा पूर्वअर्थमन्त्री डा. रामेश्वर प्रसाद खनाललाई प्रदान गरिएको छ। सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको विकासका साथै सार्वजनिक जिम्मेवारीमा रहँदा नीति, प्रशासन र सार्वजनिक सेवाका क्षेत्रमा पुर्‍याएको योगदानका लागि खनाललाई सम्मान गरिएको हो।

    samman1.jpgसम्मानित दुवैजनाले पुरस्कारस्वरूप जनही २ लाख रुपैयाँ र कदरपत्र प्राप्त गरेका छन्।

    नेपाल जन–प्रशासन संघले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको आर्थिक सहयोगमा विसं २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्दै आएको छ।

    स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनको नेतृत्वमा रहेर सार्वजनिक वितरण, सेवा तथा व्यवस्थापनका क्षेत्रमा पुर्‍याएको योगदानको स्मरणमा यो सम्मान स्थापना गरिएको हो।

    यस वर्ष श्रेष्ठ र खनालसहित हालसम्म ‘हेमबहादुर मल्ल सम्मान’बाट सम्मानित हुने विशिष्ट व्यक्तित्वको संख्या २३ पुगेको छ।

    कार्यक्रममा राष्ट्रपति पौडेलले सम्मानित दुवैजनालाई बधाई दिँदै यस्ता सम्मानले समाजमा असल काम गर्न प्रेरणा दिने बताए। उनले आगामी पुस्ताका प्रशासक, व्यवस्थापक, चिकित्सक तथा उद्यमीलाई समाजप्रति थप जिम्मेवार बन्न यस्ता सम्मानले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे।

    प्रविधि र एआईको तीव्र विकासले प्रशासनिक अभ्यासमा परिवर्तन ल्याए पनि मानवीय मूल्य, आचरण, नैतिकता र इमान्दारिताको महत्त्व कहिल्यै समाप्त नहुने राष्ट्रपति पौडेलको भनाइ थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend