काठमाडौँ । जनप्रशासन क्याम्पस बल्खुमा छनोट तथा सिफारिस समितिको सिफारिस विपरित क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका छन्।
गत फागुनमा प्राध्यापक बालकृष्ण शर्माको संयोजकत्वमा गठन भएको तीन सदस्यीय सर्च कमिटीले पहिलो नम्बरमा सिफारिस गरेका व्यक्तिलाई पन्छाउँदै दोश्रो नम्बरमा रहेका तथा विवादित पृष्ठभूमिका व्यक्तिलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको भन्दै जनप्रशासन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, नेविसंघ तथा अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले विरोध गरेका हुन् ।
छनोट तथा सिफारिस समितिले नयाँ क्याम्पस प्रमुखका लागि वर्तमान निमित्त क्याम्पस प्रमुख सह प्राध्यापक डा हरिभक्त शाहीलाई पहिलो नम्बरमा सिफारिस गरेकोमा निमित्त उपकुलपति प्राध्यापक डा खड्ग केसीको अध्यक्षतामा २०८२।२।१४ गते बसेको त्रिवी कार्यकारी परिषदको बैठकले उपप्राध्यापक सुवास शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको छ।
जनप्रशासन क्याम्पसका स्ववियु अध्यक्ष अनिकेत तिवारी तथा पूर्व अध्यक्ष तथा नेविसंघ नेता पंकज कुमार क्षेत्रीले संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुखमा सुवास शर्माको नियुक्ति योग्यताप्रणालीको विपरित भएको तथा क्याम्पस सञ्चालक समितिमा पनि नियम विपरित नियुक्ति गरिएको भन्दै निर्णय सच्चाउन माग गरेका छन् ।
सर्च कमिटीले पहिलो नम्बरमा सिफारिस गरेका व्यक्तिलाई क्याम्पस प्रमुखमा नियुक्त गर्नुको साटो विगतमा परीक्षाको कापी हराएको अभियोगमा कारवाहीमा परेका तथा उपप्राध्यापक मात्रै रहेका सुवास शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरिनु आपत्तिजनक विषय भएको उनीहरुले बताएका छन् ।
उपत्यकाका आंगिक क्याम्पसमा सहप्राध्यापक भन्दा माथिका लाई क्याम्पस प्रमुख बनाउने त्रिविको प्रचलन तथा सर्च कमिटीले पहिलो नम्बरमा सिफारिस गरेका वरिष्ठ तथा विद्यावारिधी गरेका अनुभवी प्राध्यापकलाई पन्छाएर निमित्त उपकुलपति खड्ग केसीले राजनीतिक निकटताका आधारमा एमाले निकट तथा विवादित उपप्राध्यापक शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको आरोप लगाएका छन् । जनप्रशासन क्याम्पसमा आफू विद्यार्थी छँदा कैयन् पटक परीक्षामा अनुत्तीर्ण भएको भन्दै उनीहरुले नवनियुक्त क्याम्पस प्रमुख शर्माको योग्यता र क्षमता माथि समेत प्रश्न उठाएका छन्।
जनप्रशासन क्याम्पसका स्ववियु अध्यक्ष अनिकेत तिवारीले क्याम्पस प्रमुखको छनोट तथा सिफारिस समितिले उम्मेदवारको अन्तरवार्ता तथा प्रस्तुतीकरण र कार्ययोजना लगायतका विषय मूल्यांकन गरी गरेको सिफारिसलाई निमित्त उपकुलपतिको अध्यक्षताको कार्यकारी परिषदले लत्याएर जनप्रशासन क्याम्पसको स्वायत्ततामा प्रहार गरेको बताए।
उता एमाले निकट अनेरास्ववियुले भने सुवास शर्मा जनप्रशासन क्याम्पसको प्रमुखमा नियुक्त भएको भन्दै स्वागत गरेको छ ।

